The surest way not to fail is to determine to succeed.- Richard B. Sheridan

 

मधुमेह सम्बन्धी जानकारी

शरीरमा आंशिक वा पूर्णरूपमा इन्सुलिनको कमी भई वा यसले गर्ने काममा अवरोध आई खानामा पाइने कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसकेर रगतमा ग्लुकोज (चिनी) को मात्रा बढ्ने अवस्था नै मधुमेह (डाइबिटिज - diabetes) हो। रगतमा निर्धारित सिमाभन्दा बढी चिनीको मात्रा हुनु मात्र नै मधुमेह हुनु हो । खाली पेटमा हुँदा रगतमा चिनीको स्तर सामान्यतः १०६ मिलिग्राम भन्दा कम र ७५ ग्राम ग्लुकोज खाएको दुई घण्टा पछि १४० मिलिग्राम भन्दा कम भएको अवस्था सामान्य हो । तर मधुमेहको स्थितिमा खाली पेटमा रगतमा चिनी स्तर १२६ र ७५ ग्राम ग्लुकोज खाएको दुई घण्टा पछि २०० मिलिग्राम भन्दा बढी हुन्छ ।

यो एक दिर्घरोग हो । जसले विस्तारै शरीरका सम्पूर्ण अंगहरुलाई प्रभावित गर्छ । खासगरी यसले शरीरका संवेदनशील अंगहरुः जस्तै आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ । एकपटक लागेपछि यो रोगबाट छुटकारा पाउन गाह्रो छ । यद्यपी यसप्रति सचेत हुनसके सामान्य जीवन बिताउन सकिन्छ । मधुमेह चिनी बढी खानाले वा गुलियो कुरा धेरै खानाले हुन्छ भन्ने भ्रम धेरैलाई छ, जुन सत्य होइन।

हामीले खाएको धेरैजसो खाना ग्लुकोजमा परिवर्तन भएर शरीरलाई शक्ति दिने काम गर्छ । खाना खाएपछि सबैभन्दा पहिले पेटमा पुग्छ, जहाँ पचाउने कार्य हुन्छ । पेटबाट खाना सानो आन्द्रामा पुग्छ । त्यहाँ पचाउने काम पूरा भै त्यो कार्बोहाइड्रेट (स्टार्च), चिल्लो पदार्थ बोसो र प्रोटिन (अमिनो एसिड) जस्ता रसमा परिवर्तन भएर आन्द्राको भित्ता हुँदै रगतमा पुग्छ ।

इन्सुलिनले के गर्छ ?

हाम्रो पेटमा प्यांक्रियाज भन्ने अङ्ग हुन्छ जसमा बिटा सेलहरू हुन्छन् । बिटा सेलमा इन्सुलिन हार्मोन उत्पादन हुन्छ । यही इन्सुलिन हार्मोनले रगतमा भएको ग्लुकोजलाई कोषभित्र प्रवेश गराई शक्ति प्रदान गर्छ । बढी भएको चिनी लाई कलेजो (Liver) मा लगेर संचित गर्ने काम गर्दछ । जब हामी खान पाउदैनौ वा भएको अवस्था मा जब शरीर लाई उर्जा र शक्ति को आवश्यकता पर्दछ तब इन्सुलिन ले कलेजो मा संचित ग्लुकोजलाई त्यहाँ बाट निकाली शरीरको कोशिकाहरू र अङ्गहरुमा पुर्याउने काम गर्दछ जसले गर्दा भोको अवस्थामा पनि हामीले शरीरलाई आवश्यक पर्ने शक्ति प्राप्त गर्दछौ ।

शरीरमा इन्सुलिनको काम

  • इन्सुलिनले खानामा भएको कार्बोहाइड्रेट (ग्लुकोज) को खपतलाई बढाउने गर्छ।
  • इन्सुलिनले प्रोटिन निर्माणको कार्य बढाउने गर्छ।
  • इन्सुलिनले शरीरमा बोसोको भण्डारणलाई बढाउने गर्छ।

कुनै कारणले शरीरमा इन्सुलिन कम हुन्छ, ग्लुकोजको शरीरका कोष अथवा तन्तुको भित्र पस्न सक्दैन । रगतमा ग्लुकोजको मात्रा बढेर १ सय ८० मिलिग्राम प्रतिशतको तह नाघी अथवा ग्लुकोजले शरीरमा काम गर्न नपाई पिसाबबाट जान्छ । यस्तो अवस्थामा पिसाबमा ग्लुकोज देखापर्छ ।

पिसाबमा ग्लुकोज देखापरेपछि बढी पिसाब लाग्नु स्वाभाविक हो । ग्लुकोजले शरीर भित्रको पानी खिचेर ल्याउँछ । यसरी बढी पिसाब भएपछि शरीर सुख्खा भएर तिर्खा लाग्छ । शरीरमा प्रशस्त ग्लुकोज भए पनि प्रयोगमा नआएपछि कोषहरू भोकै हुन्छन्। कोषहरूले कहिल्यै ठीक मात्रामा खाना पाउँदैनन् । त्यसैले डायविटिजका रोगीलाई जति खाना खाए पनि भोक लाग्छ । यस्तो स्थितिमा शरीरको शक्तिका लागि आफ्नै शरीरको प्रोटिन र बोसोलाई ग्लुकोजमा परिवर्तन गरी प्रयोगमा लिन्छ, जसले गर्दा डायविटिजको रोगी दुब्लाउँदै जान्छ, साथै रोगीलाई बढी थकान महसुस हुन्छ ।

मधुमेह भए पछि शरीरलाई भोजनबाट ऊर्जा प्राप्त गर्नमा कठिनाई हुन्छ। फेरि पनि भोजनबाट ग्लूकोजमा बदलि रहन्छ। ग्लूकोज रक्त धारामा जान्छ। तर अधिकांश ग्लूकोज कोशिकाहरूमा जान पाउँदैन जसको कारण यस प्रकार छन्

  • इन्सुलिनको मात्रा कम हुन सक्छ।
  • इन्सुलिनको मात्रा अपयाप्त हुन सक्छ किन्तु यसले रिसेप्टरहरूलाई खोलिन सक्दैन।
  • पुरा ग्लूकोजको ग्रहण गर्न सक्नेको लागि रिसेप्टरहरूको संख्या कम हुन सक्छ।
ma 2_2
तपाईं अहिले यहाँ हुनुहुन्छ : गृहपृष्ठ स्वास्थ सम्बन्धि जानकारी मधुमेह सम्बन्धी जानकारी मधुमेह सम्बन्धी जानकारी र प्रकार